Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग

करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपादान दिन सरकारसँग माग गर्नुभएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क पनि गर्नुभयो । नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपादानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले मुख्य सचिवको नियुक्ती मन्त्रीपरिषद बैठकले गर्न नहुने धारणा पनि राख्नुभयो ।

समितिकी सदस्य रामकुमारी झाँक्रीले खुला प्रतियोगिताबाट सहसचिव नियुक्त गर्ने व्यवस्था प्रभावकारी नहुने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *