Saturday, January 18, 2025
Home > मुख्य समाचार > कटहरीमा निर्माण गरिएको एकिकृत कृषि थोक बजार अझै संचालनमा आएन

कटहरीमा निर्माण गरिएको एकिकृत कृषि थोक बजार अझै संचालनमा आएन

मोरङ, २ माघ । मोरङको कटहरीमा निर्माण गरिएको एकिकृत कृषि थोक बजार निर्माण सम्पन्न भएपनि संचालनमा आउन सकेको छैन । महिनौ अघि निर्माण सम्पन्न भएपनि संचालनमा नल्याइएका कारण करोडौं लगानीको सो योजना अलपत्र छ ।

मोरङको कटहरी गाँउपालिका जमटोकीको एकिकृत कृषि थोक बजार निर्माण सम्पन्न भएको डेढ महिना भईसक्दा समेत प्रयोगमा आउन सकेको छैन । प्रधानमन्त्रीबाटै उद्घाटन गराउने सम्बन्धित निकायको चाहनाका कारण सो एकिकृत कृषि थोक बजार संचालनमा आउन नसकेको बताइन्छ । गत कार्तिक १७ गते अघि नै सो कृषि थोक बजारको निर्माण सम्पन्न भइसकेको र पटक पटक उद्घाटन कार्यक्रम सारिएकाले ठेकेदार कम्पनीले अनावश्यक खर्च व्यहोर्नु परिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् । यता निर्माण समितिसंग सम्बद्ध पदाधिकारीहरुले भने बजार संचालन र स्वामित्वका बिषयमा संघीय र प्रदेश सरकारबीच विवाद रहेको र संचालनका निम्ति आवश्यक निति समेत निर्माण हुननसकेकाले ढिलाई भएको हुनसक्ने बताएका छन् । एकिकृत कृषि थोक बजारको निर्माण पुर्णरुपमा सम्पन्न भएर संचालनको प्रतिक्षामा रहेपनि थोक बजार अघिल्लतिर र आसपासका सडकहरुको निर्माण हुनसकेको छैन । बजारकालागि आवश्यक सडक लगायतका पुर्वाधारहरुको निर्माण बांकी रहेको र सोही बिषयको आवाज स्थानियले उठाएपछि उद्घाटन कार्य रोकिएको हुनसक्ने जेएम युवा क्लबका अध्यक्ष सत्यनारायण माझीको भनाई छ ।

कृषि मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टले विश्व बैंकको सहयोगमा करिब १६ करोड रुपैयाको लागतमा सो थोक बजार निर्माण गरेको हो । शुरु लागत १३ करोड ७६ लाख रहेको सो थोक बजार ०७३ साल मंसिरमा निर्माण शुरु गरी १३ महिना अर्थात ०७४ पौष मसान्त भित्र निर्माण सम्पन्न गर्ने तयारी थियो । तर गत वर्ष आएको बाढीका कारण निर्माणमा ढिलाई भएको र लागत समेत बढेको ठेकेदार कम्पनीले जनाएको छ । कृषि थोक बजार संचालनमा आउन नसक्दा विराटनगरको गुद्री बजारमा रहेको कृषि थोक बजार सार्न सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *