Thursday, November 21, 2024
Home > खेलकुद समाचार > एमसीसीसँग नेपाल हार्यो

एमसीसीसँग नेपाल हार्यो

नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी–ट्वान्टी क्रिकेटमा नेपालको मिक्स टिमलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको छ । एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर १ बलमा अलआउट हुँदै मात्र ७६ रनमा समेटियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए । यस्तै भिम सार्कीले १३ तथा कप्तान रोहित पौडेलले ६ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका राशिद खानले तीन विकेट लिए । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएको एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ । तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित भएको थियो । एकदिवसीयमा भने नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो । यस्तै नेपाली यू–१९ क्रिकेट टिमविरुद्धको टी–ट्वान्टीमा एमसीसीले ३८ रनको जित निकालेको थियो । अब एमसीसी पोखरा भ्रमणमा जाने छ । त्यहाँ एमसीसीले आमन्त्रण–११ र मुख्यमन्त्री–११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *