Saturday, January 18, 2025
Home > मुख्य समाचार > इलाम बजारवासीले अब सहज रुपमा पानी प्रयोग गर्न पाउने

इलाम बजारवासीले अब सहज रुपमा पानी प्रयोग गर्न पाउने

इलाम । इलाम बजारवासीले अब भने सहज रुपमा पानी प्रयोग गर्न पाउने भएका छन् । इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाको कामले गति लिएसँगै यहाँका स्थानीयले पानीको सहज प्रयोग गर्न पाउने भएका हुन् ।

सदरमुकाममा इलाम बजार तेस्रो साना खानेपानी आयोजनाको कामले तिव्रता लिएसँगै स्थानीयले सहज रुपमा पानी उपभोग गर्न पाउने भएका छन् । ८५ करोडको बृहत्त खानेपानी आयोजनाको काम तीव्ररुपमा सञ्चालन भएसँगै यहाँका स्थानीयले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने भएका हुन् । आयोजना सम्पन्न भइसक्दा इलाममा २४ घण्टा नै पानी आउने भएको छ । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा सञ्चालन भएको आयोजनाको काम तीव्ररुपमा सञ्चालन भइरहेको हो । आयोजनाको १९ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हालसम्म कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापन गरेर करिब ९ प्रतिशत काम सम्पन्न भएको हो । आयोजनाका प्रमुख इञ्जिनियर मेघराज धिमालले हालसम्म करिब ४ प्रतिशत प्रगति गर्ने लक्ष्य राखिएको भए पनि १९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपयामा खानेपानी आयोजनाको ठेक्का लागेको हो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मतसम्हार गर्ने बताइएको छ । खानेपानी ल्याउनका लागि यस अगाडि नै प्रति घरधुरी १५ हजार २०० का दरले रकम उठाइ सकिएको ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न भएपछि इलाम वजारमा २४ सै घण्टा पानी झर्ने छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा र भाँडीखोलाबाट पानी ल्याइने अध्यक्ष थापाले जानकारी दिनुभयो । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उहाँले बताउनुभयो । अहिले पानीको अभावमा दुई दिनमा एकपटक पानी वितरण गर्दै आएको इलाम नगरपालिकाको खानेपानीको समस्या समाधान गर्न आयोजना सहयोगी हुने स्थानीयको अपेक्षा छ । इलाम बजारमा पानी बोकेर खाने दिनको अन्त्य भएको भन्दै स्थानीयमा खुसियाली छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *