Saturday, January 18, 2025
Home > आर्थिक समाचार > इलाममा बहुमूल्य प्रजातीको केशर खेतीको व्यावसायिक उत्पादन सुरु

इलाममा बहुमूल्य प्रजातीको केशर खेतीको व्यावसायिक उत्पादन सुरु

इलाम । इलाममा बहुमूल्य प्रजातीको केशर खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । इलामको माईजोगमाई गाउँपालिकाको थुम्के भन्ने स्थानमा यसको उत्पादन सुरु भएको हो । प्रतिकिलो १० लाखसम्म पर्ने केशर खेतीको पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि यससँग लाग्ने किसान मात्र हैन स्थानीय तहमा समेत खुसीयाली थपिएको छ ।

प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडिबुटी केशरको व्यावसायिक उत्पादन इलाममा सुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रुपमा केशरको खेती सुरु गरेको हो ।  भारतको कास्मीरबाट दुईमन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाइएको छ । थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सयदेखि दुईहजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका क्रममा गुणस्तरीय केशर उत्पादन भएको संस्थाले जनाएको छ ।  केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।

अंग्रेजीमा स्याफरोन भनेर चिनीने केशर खेती युरोपबाट शुरु भए पनि नेपालका केही भूभागमा यसको व्यावसायिक खेती सुुरु भएको छ । केशरलाई नशा बलियो बनाउने, मुटु कलेजोको उपचारमा प्रयोग गरिने बताइन्छ । औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ । यसको ब्यावसायिक उत्पादन खेतीले गाउँपालिकामा मात्र हैन सिंगो जिल्लामा नै खुसीयाली छाएको छ र तर यसको निरन्तरता र दिगोपनका लागि सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *