Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > इलामको यस्तो साकाहारी गाउँ

इलामको यस्तो साकाहारी गाउँ

मठमन्दिर र धार्मिक स्थलमा बलि चढाउने र घरहरुमा मासु नखाने मान्छे कमै मात्र पाउन सकिन्छ । तर पशुपध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । यसको उदाहरण भने इलाम जिल्लाको माङ्सेबुङ्ग बनेको छ ।

घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि छ । पहिलोपटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा भने पक्कै होइन । पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो । किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । सो गाउँमा मासु मङ्स, जाँड, रक्सी खाईन्दैन । दुइ वर्ष अघि मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको छ । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोट समेत सेवन गर्न निषेधित गरिएको छ ।

यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाइएको छ । किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता र सेबुङ्ग भनेको छानेको ठाउँ अर्थात देवता (ईश्वर) ले छानेको ठाउँ भएको विश्वाससहित माङसेबुङ करिब दुई दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ । सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन् ।

बिषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थान किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्गको कर्मथलोको रुपमा विकास गरिएको छ । हरेक वर्ष मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाइन्छ । दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाईने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *