Saturday, January 18, 2025
Home > मुख्य समाचार > इलामका मासु पसल मापदण्ड बिपरित

इलामका मासु पसल मापदण्ड बिपरित

इलाम / इलाम बजारमा सञ्चालित सबै मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । नेपाल सरकारले तोकेबमोजिमका कुनै पनि मापदण्ड पूरा नभएका मासु पसलबाट जिल्लावासीले मासु खाइरहेका छन् ।
जब चाडपर्व आउँछ तब बजार अनुगमन हुन्छ । अनि एक पटक खाद्यवस्तुको कुरा उठ्छ अनी योग्य र अयोग्य छुट्याइन्छ पनि । तर बिस्तारै बिर्सँदै गइन्छ यसरी नै चलिरहेको छ नेपालमा अनुगमन प्रणाली ।
यसैक्रममा इलाम बजारका मासु पसलको अनुगमन भयो । इलाम वजारमा सञ्चालित अधिकांस मासु पसलहरु सरकारले तोकेको मापदण्डविपरित सञ्चालनमा रहेको पाइएको छ । इलाम नगरपालिकाको नेतृत्वमा १९ वटा मासु पसलको अनुगमन गर्दा सबै पसलमा मापदण्ड पूरा नभएको अनुगमन टोलीको निष्कर्ष छ । इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधिले अनुगमन गरेका थिए । अनुगमनका क्रममा केही मासु पसलमा हतियारमा खिया लागेको पाइएको थियो । कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो । इलाम नगरपालिका पशुसेवा शाखाका बरिष्ठ पशुविकास अधिकृत सुरेन्द्र खरेलका अनुसार जिल्लामा सञ्चालित अधिकांश मासु पसल सरकारले तोकेको मापण्डविपरीत सञ्चालन भएको पाइएको छ । सरकारले तोकेको मापदण्डअनुसार पसलहरु सञ्चालन नभएको उहाँले बताउनुभयो ।
पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मूल्यसुची नराखिएको, बधशालामा आवश्यक सबै सामग्री नराखिएको उहाँको भनाइ छ । साथै मासु राख्न सटर नबनाएको उहाँ बताउनुहुन्छ । मासु राख्नका लागि फ्रीज राखिएको भए पनि फ्रीजमा करेन्ट नै नआउने गरेको समेत पाइएको थियो । सरकारले तोकेको निश्चित मापदण्ड अनुसार नपाएपछि मासु पसललाई सचेत गराइएको छ । उपभोक्ताको गुनासो आउने गरेकाले चाडपर्वको मुखमा अनुगमन गरिएको इलाम नगरपालिकाकी उपमेयर शुसिला नेम्वाङले वताउनुभयो । इलाम बजारभन्दा बाहिर अनुगमन गरिने उहाँको भनाइ छ ।
खाद्यान, तरकारी, दूध, दही र माछामासु सफा र स्वथ्य हुनुपर्ने भए पनि नगरका केही स्थानमा यस्तो नपाइएकाले अब सबै क्षेत्रमा पुगेर अनुगमन गरिने उपप्रमुख नेम्वाङले बताउनुभयो । यता व्यापारी र ब्यवसायीहरुलाई आवश्यक तालिम र जानकारी नदिएका कारण समस्या उत्पन्न भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुको भनाइ छ ।
ब्यवसायीहरुलाई सफा र सुरक्षित मासु पसल सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ । सचेत गराइएका पसलहरु सुधार गरिएको नपाइए कारबाही गरिने उपमेयर नेम्वाङको भनाइ छ । चाडपर्व अगाडीको पहिलो अनुगमन मासु पसलबाट सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *