Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > इन्द्रजात्रामा यस वर्ष ४८ जना विदेशी पाहुना पनि सहभागी हुने

इन्द्रजात्रामा यस वर्ष ४८ जना विदेशी पाहुना पनि सहभागी हुने

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् ।

काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको हो । इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन यस वर्ष पहिलोपटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागी गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो । नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको पनि उहाँले बताउनुभयो । बिहीबारबाट उनीहरु नेपालमा आउन सुरु गर्नेछन । आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन् ।

मंगलबार (हिजो) बाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्याभण्डारीले बसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराई काठमाडौं उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाडौं महानगरपालिकाको योजना छ । त्यसका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय क्लबहरुसँग पनि सहकार्य गरिएको छ । काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ । मेयर शाक्यले इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिका आफैले गर्न लागेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *