काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारविहिन सपना बाँड्ने काम गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उहाँले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिनुभयो । सगरमाथा संवाद गर्ने सरकारलाई उहाँले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । सिंचाई र तटबन्धको ठुला ठुला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उहाँले योजनाबद्ध आधारकशिला तयार पार्नुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिड्ने काम गरेको आरोप उहाँले लगाउनुभयो । उहाँले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।