Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > आदिवासी सन्थाल समुदायका मौलिक नाचहरु लोप हुँदै

आदिवासी सन्थाल समुदायका मौलिक नाचहरु लोप हुँदै

मोरङ । आदिवासी सन्थाल समुदायका मौलिक नाचहरु लोप हुँदै गएका छन् । पश्चिमा संस्कृतिको प्रभाव समुदायका मानिसहरु रोजगारीका लागि देशविदेशतिर पलायन हुँदै गएका कारण सांस्कृतिक नृत्यहरु लोप हुँदै गएका हुन् ।

सांस्कृतिकरुपले धनी मानिने आदिवासी सन्थाल समुदायका मौलिक नाँचहरु लोप हुँदै गएका छन् । तीन दशक अघिसम्म यो समुदायका बस्तीहरुमा चाडपर्व र महिना अनुसारकै नृत्यहरु नाच्ने चलन थियो । फरक–फरक पर्वका लागि बेग्लाबेग्लै नृत्य र नृत्यका लागि मौलिक गीतसंगीत गाउने प्रचलन समेत थियो ।  भौतिकबाद र आधुनिक जीवनशैलीको खोजीमा पुराना बस्तीका मानिसहरु शहर पस्ने र रोजीरोटीको खोजीमा अन्यत्र सर्दै गएका कारण सन्थाल समुदायको नृत्य संस्कृतिमा प्रतिकुल असर परेको यो संस्कृतिका जानकार लक्खीराम मुर्मुको भनाई छ ।

केहि दसक अघिसम्म यो समुदायमा दर्जनौं नृत्यहरु अस्तित्वमा थिए तर पछिल्लो समय अधिकांश नृत्यहरु लोप भएका छन । यो समुदायका मानिसहरुले पानी पर्दा खुशियालीमा लागणें नृत्य नाचेर उत्सव मनाउने प्रचलन थियो । यसैगरि बिवाहको अवसरमा बैका नृत्य, लाठी सहित युद्धकला समेटिएको लौरिया, दशैंको अवसरमा दशयने र पुरुषले बाजा बजाउने तथा महिला मात्रले नाच्ने गुलवारी नृत्य समेत नाचिन्थ्यो । तिहारमा सोहराय र करम पर्वमा कराम दन नामक नृत्य प्रस्तुत गरिन्थ्यो । यी नृत्यहरुमध्ये सोहराय नृत्य सबभन्दा लोकप्रिय मानिन्छ जुन अद्यावधिक जीवीत छ । अन्य नृत्यहरु भने अहिले सभासमारोहका लागि मात्र प्रस्तुत गरिन्छ ।

यसप्रकारका नृत्यहरुमा बाद्यबादनकोरुपमा तुम्दा, दामाक, कोरताल र ढोल लगायत प्रयोग गरिन्छ भने शिरमा मुजुर सहितका विभिन्न चराचुरुङिहरुको प्वाँख शिउरिने गरिन्छ । सन्थाल समुदायको संस्कृति बनजंगलकै छेउछाउमा बिकसित भएका कारण समुदायका नृत्यहरुमा त्यसको झझल्को पाउन सकिन्छ । उनिहरुको पहिरण र भेषभुषाले त्यो कुरा झल्काउछ । जंगली परिवेशलाई अंगाल्दै हुर्किएको यो समुदायको संस्कृति जंगलक्षेत्र मासिदै गएका कारणसमेत प्रभावित भएको छ । विभिन्न धर्म मान्ने सन्थाल समुदाय मंझी प्रथाबाट संचालित हुँदै आएको छ । देशको अमुल्य निधिकोरुपमा रहेको सन्थाली नृत्यहरु जोगाउन सरकारले अविलम्ब ठोस निति ल्याउनु आवश्यक छ भने समुदायका मानिसहरु समेत समय रहँदै आफ्नो संस्कृति संरक्षणप्रति सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *