राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेश एकमा हिन्दु राष्ट्र पुर्नस्थापना राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । सो अवसरमा प्रदेश एकको अस्थायी राजधानी विराटनगरमा आज प्रदेशस्तरिय कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन हिन्दुु राष्ट्रको आवाज उठाएको बताउनुभयो । उहांले हिन्दु राष्ट्र र सनातन धर्म नेपालीको पहिचान,एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधार स्तम्भ भएको बताउनुभयो । अध्यक्ष थापाले नेपालको पहिचान,नेपाली बीचमा एकता र नेपालको राष्ट्रिय अस्तित्वलाई बलियो बनाउन सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको आवाज उठाएको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले धर्म निरपेक्षताको नाममा नेपालीलाई विभाजित गर्ने काम भएकाले गैर हिन्दुहरुले समेत अभियानलाई सर्मथन गर्नुपर्ने बताउनुभयो । उहांले मंसिर सम्म हिन्दु धर्म पुर्नस्थापना अभियान चलाइने र फागुनबाट अभियानलाई आन्दोलनकोरुपमा अघि बढाइने समेत बताउनुभयो । साधुसन्त समाजको तर्फबाट बोल्नुहुंदै स्वामी भागवाताचार्यले हिन्दु राष्ट्र पुर्नस्थापना अभियानलाई सन्त समाजले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पुर्वमन्त्री टंक ढकाल,राप्रपाका केन्द्रीय सदस्य अर्जुन राई,राष्ट्रिय मुस्लिम संगठनका केन्द्रीय सदस्य मोहम्मद मुस्लिम मियां लगायतले हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा बोल्नुभयो । राप्रपाले यसअघि साउन २ गते काठमाण्डौमा र २५ गते पोखरामा जागरण अभियान आयोजना गरिसकेको छ ।