तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई आज दिउँसो बर्खास्त गर्नुभएको हो । मन्त्री स्थापितको काम र व्यवहार प्रति असन्तुष्ट रहनुभएका पौडेलले स्थापितलाई बर्खास्त गर्नुभएको छ । संविधानको धारा एक सय ६९ को उपधारा २ को खण्ड ख बमोजिम स्थापितलाई पद मुक्त गरिएको प्रदेश नम्बर ३ ले जनाएको छ ।स्थापितलाई बर्खास्त गरेपछि तीन नम्बर प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय भने मुख्यमन्त्री पौडेल आफैले राख्नुभएको छ । स्थापितलाई पद मुक्त गरेको चिठ्ठी भने तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोइरालालाई बुझाइएको मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेलले बताउनुभयो । मन्त्री स्थापितलाई हटाउने अन्तिम तयारी अनुसार मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं जानुभएको थियो । उहाँले नेकपा पार्टीसँगको सल्लाह र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि आज स्थापितलाई बर्खास्थत गर्नुभएको हो । मुख्यमन्त्री पौडेललाई मन्त्री परिषदको सधैँको बैठकमा मुख–मुखै लाग्ने, अभद्र व्यवहार गर्ने काम निरन्तर भएको र आफ्नो व्यवहार नसच्याएको भन्दै स्थापतिलाई बर्खास्त गरिएको पौडेलका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो ।