Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > सिरियामा भएको द्वन्द्वका बारेमा टर्की र रूसको फरक–फरक तर्क

सिरियामा भएको द्वन्द्वका बारेमा टर्की र रूसको फरक–फरक तर्क

सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक–फरक मत व्यक्त गरेका छन् । टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतंककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ । इरान, टर्की र रुसका शीर्ष नेताहरुको तेहरानमा भएको शिखर बैठकमा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि युद्वबिराम गर्न आह्वान गरेका हुन । उनले युद्धविरामलाई सुनिश्चित गर्न सकिए एउटा महत्वपूर्ण कदम हुने भएकाले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । तर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको जिकिर गरे । उनले टर्कीले राखेको प्रस्ताव अस्वीकार्य हुने र रुसी सेनाले सिरियाली सेनालाई इडलिब आक्रमणमा साथ दिइरहने बताए । शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको थियो । सिरियामा विगत सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सात वर्षसम्म यहाँ चलेको गृहयुद्धका कारण हालसम्म ३ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *