काठमाडौ, ३० कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाउनु भएको छ ।
पूर्वमन्त्री समेत रहनु भएका कांग्रेस नेता केसीले प्रधानमन्त्री केपी ओली शक्ति हातमा लिएर जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले काम भन्दा बढि कुरा गर्ने गरेको गुनासो पनि गर्नु भयो । निर्वाचनको बेला वृद्धा भत्ता थप गर्ने आश्वासन समेत सरकारले पूरा गर्न नसकेको नेता केसीको भनाई छ । कांग्रेस नेता केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, महंगी बढाएको, सुन तस्करीलाई कार्वाहीको दायरामा ल्याउन नसकेको आरोप समेत लगाउनु भयो । फरक प्रसंगमा नेता केसीले सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्त गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।