काठमाडौं, १६ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दाबीसमेत गर्नुभयो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गर्नु भयो । अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म सितल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाको आपत्ति छ । अध्यक्ष राणाले राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको पनि स्पष्ट पार्नुभयो ।