Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > सरकारको बचाऊमा लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

सरकारको बचाऊमा लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौ., ११ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाऊ र प्रचारमा एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

पार्टी स्थायी समिति बैठकमा नेताहरुबाटै सरकारको चर्को आलोचना भएपछि अध्यक्ष दाहालले आजको बैठकमा सरकारको रक्षा र प्रचारमा दृढतापूर्व अभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको हो । पार्टी स्थायी समितिका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । स्थायी समितिका सदस्यहरुले राख्नु भएको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता अध्यक्ष दाहालले व्यक्त गर्नु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । परिमार्जित सो प्रतिवेदनले पार्टी र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्दैै पार्टी एकतालाई अझ बलियो बनाउने अध्यक्ष दाहालको विश्वास थियो । अध्यक्ष दाहालले पार्टी स्थायी समितिको जारी बैठकले पार्टीलाई एकतावद्ध मात्रै बनाउने नभई सरकारलाई सफल बनाउन पनि बलियो आधार प्रदान गरेको स्पष्ट पार्नु भयो । अध्यक्ष दाहालले बैठकमा पार्टी नेतृत्वले गरेको गल्ती औंल्याउने काम समेत स्थायी समिति बैठकमा भएको भन्दै त्यसलाई सच्याउँदै अघि बढने धारणा पनि राख्नु भएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । मंसीर २९ गतेबाट जारी पार्टी स्थायी समितिको आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठाइएको प्रश्नको जवाफ अध्यक्ष दाहालले दिनुभएको हो । भोलि बिहिबार बस्ने बैठकमा राजनीतिक प्रतिवेदनमाथि राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *