Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप

सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप

काठमाडौं, १३ पुष । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गैह्कानुनी ढंगले कम्पनी संचालन गर्न आएका प्रति धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् । नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सरोकारित मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दाबी गर्नुभयो । मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनी भाग्नु र नया कम्पनी खडा गरि तत्काल निर्माणको जिम्मा लगाउने तयारी पनि भईरहेको भन्दै उहाँले त्यस बारेको यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । सत्तारुढ दलकै सांसदले पनि मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसंग माग गरेका छन् । दिलकुमारी रावलले मेलम्ची खानेपानी आयोजनाको निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसिले एकातर्फी काम छोडेर हिडेको भन्ने बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले प्रारम्भीक प्रतिवेदन सरकारलाई बुझाएको भन्ने बारेमा शिक्षा मन्त्रीले सदनमा उपस्थित भएर सत्य तथ्य जानकारी गराउन माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *