ललितपुर, २७ मंसिर । संकटा क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
आज हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आलेमगरले एक एक गोल गरे । जितसंगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । सातौं जित निकालेसंगै संकटाले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ । यस्तै आजै भएको अर्को खेलमा सरस्वती युथ क्लबले तेस्रो जित दर्ता गरेको छ । सरस्वतीले न्युरोड टिम एनआरटीलाई १ – ० गोल अन्तरले पराजित गरेको हो । सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । जितसंगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । सरस्वती लिगको नवौं स्थानमा छ । एनआरटीले ८ खेलमा १ अंक जोडेको छ । एनआरटी लिगको पुछारमा छ । यस्तै हल्चोकस्थित एपीएफ मैदानमा आज नै भएको खेलमा जावलाखेलले एपीएफलाई १ – ० गोल अन्तरले पराजित गरेको छ । जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । जितसंगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ । जावलाखेल लिगको दशौ स्थानमा उक्लिएको छ । एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।