तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा केही युवाहरुद्धारा विबाह मण्डपमै बेहुली माथि सामुहिक कुटपिट गरेका छन् । कुटपिटबाट २२ बर्षिया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाईते भएकी छिन् । कुटपिटमा परी अन्य ३ जना पनि घाईते भएका छन् । गएराति भव्यरुपमा बैबाहिक समारोह भैरहेका बेला समूहमा गएका युवाहरुले विबाह मण्डपमै वेहुली माथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । कुटपिटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ । कुटपिटबाट गम्भिर घाईते बेहुलीलाई उपचारका लागि गएराती नै धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा त्यहा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नबमीका २२ बर्षिय सचिन आङदेम्बेसंग विबाह भैरहेको थियो । बेहुला आङदेम्बे भने सकुशल छन् । युवाहरुको कुटपिटबाट बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाईते भएका छन । घाईते बेहुलीका दाजु सम्बाहाम्फेलाई पनि थप उपचारका लागि बिराटनगर ल्याइएको र अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बर्ष १९ का सरोज लिम्वु, १४ बर्षका ओमन लिम्वु, २१ बर्षका दिनेश लिम्वु, १९ बर्षका सुदी लिम्वु र १७ बर्षका मन्दिप लिम्वुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । कुटपिटमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । बेहुलीको स्थानीय केही युवा संग यस अघि सम्बन्ध रहेको र अर्कै केटासंग विबाह गरेपछि आक्रोशित युवाहरुको समूहले बेहुली माथि विवाह मण्डपमै आएर आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।