१८ भदौ, इलाम र झापाको सिमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा झन्डै दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका १ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीनवटा पसलसहित घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । बेलुका साढे आठ वजे सुरु भएको आगलागी पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले ११ वजे नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगलागीबाट राँके वजार ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका श्रीबहादुर विष्ठको जुत्ताचप्पल र फेन्सी पसल साथै तिलविक्रम वस्नेतको खाद्यान्न एवम् किराना पसल जलेर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीमा दुईवटा एलपी ग्याँस पड्किएको स्थानीय वासिन्दाले जानकारी दिएका छन । मेची राजमार्गसँगै जोडिएको राँके वजारमा दुई वर्ष अगाडि पनि आगलागी हुँदा केही घर जलर नष्ट भएका थिए ।