Saturday, January 18, 2025
Home > मुख्य समाचार > यी हुन विराटनगर बमकाण्डका मतियार

यी हुन विराटनगर बमकाण्डका मतियार

साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरपालिकामा बम विस्फोट गराएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुमा सिरहा लक्ष्मीपुर परतार गाउँपालिका ३ का २० वर्षीय अभिमन्यु गिरी, मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिरहा नगरपालिका ५ सुखिपुरका २४ वर्षीय रामरिझन यादव रहेका छन् । पक्राउ गरिएका तीनै जनालाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको योजनाअनुसार बम विस्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको बताउनुभयो । जनतान्त्रिक तराई मुक्ति मोर्चाका विक्की भन्ने वीरेन्द्र यादवसमेतको सहभागितामा भारत विहार राज्यको दरभंगामा गएको जेठ महिनामा बनेको योजनाअनुसार महानगरपालिकामा विस्फोट गराइएको उहाँले बताउनुभयो । रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको एसपी केसीले बताउनुभयो । सर्वसाधारणमा त्रास फैल्याउन घटना गराइएको अनुसन्धानमा खुलेको एसपी केसीले बताउनुभयो । घटनाको दिन बम बिस्फोट गराउन मोरङको जहदाका मनोज सिंहले चलाएको मोटरसाइकलमा सिराहाका अभिमन्यु गिरीले बम बोकेर महानगरपालिका कार्यालय प्रवेश गरेको अनुसन्धानको क्रममा खुलेको छ । पूर्वनिर्धारित योजनाअनुसार मेयरको कार्यकक्ष छेउको प्यासेजमा बम राखिसकेपछि महानगरको मुल गेट बाहिर बसेका सिरहाका रामरिझन यादवले रिमोट थिचेर बम बिस्फोट गराएको जनाइएको छ । यसअघि घटना घटाउन सिरहाका दुईजना बस चढेर विराटनगर आएको र उनीहरुलाई दुईवटा मोटरसाइकलमा महानगरसम्म ओसारिएको खुलेको छ । घटना घटाएपछि फेरि चारैजना बाइक चढेर गएका र दुईजना बस चढेर फेरि सिरहातर्फ गएको अनुसन्धानका क्रममा खुलेकोे छ । घटना घटाउन बिहारको बथनाहाबाट चोर बाटो प्रयोग गरी एकदिन अघि मनोज सिंहले बम विराटनगर ल्याएको र एकदिन आफ्नो घरमा राखेपछि भोलिपल्ट सिरहाबाट आएका व्यक्तिहरुसँगै बम लिएर महानगरपालिका प्रवेश गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न रहेका मुल योजनाकार जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता बिक्की भन्ने विरेन्द्र यादव अझै फरार रहेका छन् भने घटनामा संलग्न मोर्चाकै कार्यकर्ता रामरिझनलाई प्रहरीले अन्य दुुईसँगै पक्राउ गरेको छ । पक्राउ गरिएका अन्य दुई मनोज सिंह र अभिमन्यु गिरिलाई पैसाको प्रलोभनमा घटनामा प्रयोग गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनामा थप ब्यक्तिहरुको संलग्नता भए नभएको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मकालु समाचारकालागि नवीन कर्ण, विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *