कपिलवस्तुको सीमावर्ती क्षेत्रमा रहेको यशोधरालाई पूर्ण भर्ना भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभरी रहेको ५ देखि १२ वर्ष उमेरका सबै बालबालिकाहरु बिद्यालयको पहुँचमा रहेको प्रतिबेदन प्रस्तुत गर्दै गाँउपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पूर्ण भर्ना भएको गाउँपालिका घोषणा गर्नुभयो । ‘हामी सबैको ईच्छा अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नाराकासाथ गाउँपालिकाको– ५ बैदौलीमा आयोजित कार्यक्रममा बालबालिकालाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो । गाँउपालिकाभरी बिद्यालय बाहिर रहेका १ सय २३ जना बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याईएको छ । यस्तै गाउँपालिकामा रहेका ३७ वटा बिद्यालयमा छात्रछात्रा गरी कुल ७ हजार २६५ जना आधारभुत तहमा भर्ना रहेका छन । बिद्यालय सहीत मदार्सा गरी गाँउपालिकाभित्र कुल १९ हजार ८३३ जना बिद्यार्थी अध्ययनरत छन ।