एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाएको आरोपमा त्यहाँका केही माओवादी नेताविरुद्ध मुद्दा दायर गरिएको छ ।
पुणे प्रहरीले बिहीबार स्थानीय एक अदालतमा ५ हजार पृष्ठभन्दा लामो आरोपपत्र दर्ता गरेको हो । गत जुन महिनामा गिरफ्तार गरिएका पाँच माओवादी नेतासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध प्रतिबन्धित संगठन ‘भारतीय कम्युनिस्ट पार्टी (माओवादी)’लाई आर्थिक सहयोग गरेको, ‘यलगार परिषद’ आयोजना गरि हिंसा भड्काउने काम गरेकोलगायतका आरोप लगाइएको छ । प्रहरीका अनुसार उनीहरुमाथि हतियार जम्मा गरेर देशलाई गृहयुद्धको अवस्थामा लैजान खोजेको आरोपसमेत लगाइएको छ । रोना विल्सन, सुरेन्द्र गडलिंग, शोभा सेन, सुधीर धवल र महेश राउतलाई गत जुनमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरु भारतीय माओवादीका सदस्य रहेको प्रहरीको दावी छ । थप पाँच माओवादी नेता–कार्यकर्ताविरुद्ध पनि सोही आरोप लगाइएको छ । तर, उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।