काठमाडौ, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले आफू मातहतको मन्त्रालयको सबै समस्या समाधान हुनेगरी आवश्यक कानुन निर्माणको काम भईरहेको दावी गर्नु भएको छ ।
मन्त्री अर्यालले संघीय संसदको हिउँदे अधिवेशन सूरु हुने वित्तिकै भूमि सम्बन्धि सबै कानुन निर्माण हुने गरी सो सम्बन्धि विधेयक निर्माण भईरहेको जानकारी पनि दिनु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भूमिसम्बन्धि आवश्यक कानुन निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल भईरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री अर्यालले कानुन निर्माण भएपछि सुकुम्बासी समस्या समाधानमा आफू केन्द्रित हुने योजना पनि अघि सार्नु भयो । उहाँले अव्यवस्थित बसोबास, जोखिमयुक्त बस्ती व्यवस्थापनको कामलाई पनि आफूले उच्च प्राथमिकता राखेको स्मरण गराउनु भयो ।