ललितपुर, १९ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएका खेलमा मनाङ–मस्र्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् ।
लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिनेक्रममा मनाङ–मस्र्याङ्दीले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । ललितपुरस्थि एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङलाई विजयी गराउन अन्जन विष्टले निर्णायक गोल गरे । जितसँगै मनाङले ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ अंकतालिकाको शीर्ष स्थानमा यथावत छ । समान खेलबाट १५ अंक जोडेको थ्रीस्टार क्लब दोस्रो स्थानमा उक्लिएको छ । आथै भएको खेलमा थ्रीस्टारले सरस्वती युथ क्लबलाई २–१ ले हरायो । लिगअन्तर्गत बुधबारै भएको अर्काे खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्यो । जितसँगै च्यासल युथ ६ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । ‘ए’ डिभिजन लिगमा बिहीबार दुई खेल हुनेछन् । बिहीबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले प्रतिश्पर्धा गर्ने छन भने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मच्छिन्द्र क्लबसित खेल्नेछ ।