नेपाल प्रेस युनियन मोरङले आफ्नो जिल्ला अधिवेशनको अवसरमा ५ जना पत्रकारलाई पुरस्कृत गरेको छ । युनियनको आज विराटनगरमा आयोजित आठौं अधिवेशन तथा पुरस्कार वितरण समारोहकाबीच ५ जनालाई पुरस्कृत गरिएको हो । पुरस्कृत ५ पत्रकारमध्ये दुईजना मकालु टेलिभिजनमा आबद्ध पत्रकार हुन । सो अवसरमा मकालु टेलिभिजनकी संवाददाता सुशिला पाठकलाई ११ हजार १ सय राशिको अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार र कार्यक्रम प्रस्तोता रंजिता पोखरेललाई सोहि राशि बराबरको शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यसैगरी उर्लाबारीका पत्रकार मदनबाबु प्रसाइलाई ११ हजार १ सय राशिको शैलजा आचार्य अग्रज पत्रकारिता पुरस्कार,बेलबारीका पत्रकार नरेन्द्र बस्नेतलाई सोही राशि बराबरको शैलजा आचार्य युवा पत्रकारिता पुरस्कार तथा विराटनगरका पत्रकार कुमोद अधिकारीलाई ११ हजार राशीको रमाप्रसाद मायादेवी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले पुरस्कृत पत्रकारहरुलाई दोसल्ला,सम्मानपत्र र नगदसहित पुरस्कृत गर्नुभयो । सो अवसरमा ढुंगाना तथा कांग्रेस नेता नबिन्द्रराज जोशी लगायतका नेताहरुले वर्तमान सरकार दुइ तिहाईको दम्भमा अधिनायकबादतर्फ उन्मुख भएको दाबीगर्दै नेपाली कांग्रेससहित नेपाल प्रेस युनियनको भूमिकालाई थप शसक्त बनाइनुपर्नेमा जोड दिनुभयो । युनियनको आठौं जिल्ला अधिवेशनले नयां नेतृत्व समेत चयन गर्ने नेपाल प्रेस युनियनका मोरङ अध्यक्ष मिनकुमार नवोदितले जानकारी दिनुभयो ।