Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी, तत्काल छानविन गर्न सरकारसँग माग

प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी, तत्काल छानविन गर्न सरकारसँग माग

काठमाडौं, १३ पुष । प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन ।

आज विहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै छानवीन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका हुन । प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेकाले छानवीन गर्न सरकारसँग माग गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले जानकारी दिनु भयो ।

सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति संचालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । कूटनीतिक मर्यादा विपरितका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाईका साथ लागू गर्न पनि सरकारसँग माग गरिएको छ । सांसदहरुले प्रधानमन्त्री, मन्त्री, मुख्य राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगका प्रमुखहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनिवार्य रहने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन । ज्ञापन पत्रमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा अविलम्ब कार्यकारी निर्देशक नियुक्त गर्नुका साथै संघीयता अनुकूल उक्त संस्थाको पनि पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ । सांसदहरुको ज्ञापत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जनको क्रम सुरु भएको उल्लेख गर्दै तयार हुनेवित्तिकै त्यसलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।  २०६८ सालमा बनेको कूटनीतिक आचारसंहितालाई संशोधन गर्ने सरकारको तयारी छ । मन्त्री ज्ञवालीले सो आचारसंहिता संशोधन गरेपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लैजाने स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *