विराटनगर, २८ मंसिर । प्रदेश नम्बर एकले दुई वटा ठूला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश एक सरकारको सहकार्यमा आगामी पाँच वर्ष सम्मका लागि प्रतियोगिता गर्ने सम्झौता भएको हो । प्रदेश सरकारको सहकार्यमा प्रदेश नम्बर एक स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता प्रदेश नम्बर एकमा हुने सम्झौतामा उल्लेख छ । आज विराटनगरमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली फुटबलको विकासमा ऐतिहासिक सम्झौता भएको बताउनु भयो ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय हुने बताउनु भयो । दुईवटै ठूला प्रतियोगिताले प्रदेशका लागि फरक पहिचान बनाउने विश्वास आफूले लिएको शेर्पाले बताउनुभयो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पाले दुवै प्रतियोगिता यसैवर्ष देखि २०७९ सालसम्म आयोजना गरिने जानकारी दिनुभयो । जसका लागि प्रदेश सरकारले कुल २ करोड रुपैयाँ उपलब्ध गराउने छ । प्रदेश नम्बर एकस्तरीय मुख्यमन्त्री कप लिग फुटबल अन्र्तगत प्रदेशका १४ जिल्लाका टोलीले सहभागिता जनाउने छन । जसमा उत्कृष्ट हुने दुई शीर्ष टोली अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा सहभागि हुनेछन् ।
त्यसैगरि, अन्र्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबलमा सातै प्रदेशका उत्कृष्ट टोली, ए डिभिजन क्लबका ६ टोली र तीन वटा अन्र्तराष्ट्रिय फुटबल क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । यसमा बढिमा १६ वटा टोलीको सहभागिता रहनेछ । दुवै प्रतियोगिताको मिति भने, केहीसमयपछि सार्वजनिक गरिने एन्फाले जनाएको छ ।