Saturday, January 18, 2025
Home > मुख्य समाचार > पूर्वमा प्याराग्लाइडिङको सम्भावना प्रचुर

पूर्वमा प्याराग्लाइडिङको सम्भावना प्रचुर

धरान, ५ पुष । प्याराग्लाइडिङ उडानका लागि हवाई खेलमैदान (एयर स्पेश) का लागि सरकारले स्वीकृति दिएपछि पूर्वमा साहसिक खेल पर्यटन प्रवद्र्धनको सम्भावना अझै बढ्दै गएको छ । जसले गर्दा प्रदेश नम्बर १ को पर्यटन विकासमा टेवा पुग्ने भएको छ ।

खेलकुद मन्त्रालय र नागरिक उड्यान प्राधिकरणले धरानसहित मोरङको उत्तरी पहाडी क्षेत्रलाई समेटेर प्याराग्लाइडिङको टेनिङ सेन्टर सञ्चालनका लागि हवाई खेलमैदान (एयर स्पेश)को स्वीकृति दिएको छ । प्याराग्लाइडिङको बिगिनर्स (सोलो पाइलट) कोर्षको प्रशिक्षणसहित धरान र आसपासको उपयुक्त डाँडाबाट व्यावसायिक (टेण्डम) पाइलटको कोर्ष पनि शुरु गर्न सकिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघ (नेफा)को पहलमा मन्त्रालय र प्राधिकरणबाट हवाई खेल मैदानको स्वीकृति मिलेको हो । मन्त्रालय र प्राधिकारणबाट पाएको एयर स्पेशले धरानको चिण्डे डाँडा आसपासदेखि मोरङको जेफालेसम्म छ । धरानबाट व्यावसायिक पाइलट तयार गर्न सकिने र पुर्वमा धेरै ठाउँमा प्याराग्लाइडिङलाई व्यावसायिकरुपमा विस्तार गर्न मद्दत पुग्ने प्याराग्लाइडिङ खेलाडीहरु बताउँछन् ।

प्याराग्लाइडिङका लागि एयर स्पेशको स्वीकृति पाएसँगै प्रदेश नम्बर १ कै आर्थिक समृद्धिका लागि टेवा पुग्ने विश्वास गरिएको छ । साहसिक खेलमा रमाउन चाहने पर्यटकहरुलाई प्रदेशमा भित्र्याउन प्रदेश सरकारको थप भूमिकाको आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *