पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको आज बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बन्नुभएका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । कलेजोमा क्यान्सर रोग लागेका उहा यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा आज बिहानै उहाँको निधन भएको हो । गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीकालागि आज निवासमै राखिने छ ।