Saturday, January 18, 2025
Home > मुख्य समाचार > पहाडी र उच्च हिमाली क्षेत्रमा भारी हिमपात

पहाडी र उच्च हिमाली क्षेत्रमा भारी हिमपात

१३ पुष । चिसो बढेसँगै पहाडी र उच्च हिमाली क्षेत्रमा आज भारी हिमपात भएको छ ।

तेह्रथुमको माथिल्लो क्षेत्रमा आज अपरान्ह देखि हिमपात शुरु भएको छ । वर्षा संगै हिमपात शुरु भएपछि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र पटेकडाँडा, तीनजुरे, मंगलवारे, गुफा, मिल्के लगायतका क्षेत्रमा हिउँ परेको छ । संखुवासभाको चौकी बजारमा पनि वाक्लो हिउँ परेको स्थानीय कुमार तामाङले बताउनुभयो । बजारसहित आसपासका लेकाली वस्तीमा पानी संगै वाक्लो हिँउ परेकाले स्थानीय घर वाहिर निस्किन सकेका छैनन् । तिनजुरे मिल्के जलजले क्षेत्रमा पनि वाक्लो हिँउ परेको छ । एक्कासी हिउ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु तल्लो क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा शेर्पाले बताउनुभयो । हिमपात भए पछि स्थानीयबासी, पर्यटक, बटुवा र घरपालुवा पशु पंक्षीलाई सास्ती भएको चौकी बजारका ब्यापारी रामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपात भए पछि बजार, पसल सबै सुनसान भएका छन् । आज पाँचथर, इलाम र भोजपूरका उच्च क्षेत्रमापनि हिमपात भएको छ । उता मनाङमा भारी हिमपातपछि तापक्रम घटेर माइनस २० डिग्री सेल्सियसमा पुगेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार हावाहुरीसहित हिमपातका कारण तापक्रम माइनसमा गएको हो । आज काठमाडौँको तापक्रमपनि यस वर्षकै सबैभन्दा न्युन विन्दुमा झरेको छ । आज बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *