काठमाडौं, ७ पुष । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले न्याय सेवालाई अझ बढी व्यावसायिक, सुदृढ र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ ।
यही पुस १९ गते उमेर हदका कारण अवकाश लिन लाग्नुभएका प्रधानन्यायाधीश मिश्रले बदलिँदो परिवेशअनुसार न्याय दिने आफ्नो उद्देश्यमा अझै उत्साहका साथ क्रियाशिल हुन पनि कानुन व्यवसायीहरुलाई सचेत गराउनुभयो । नेपाल कानुन व्यवसायी परिषदको रजत महोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबैलाई न्याय दिने काममा अझै बढि क्रियाशील भएर अघि बढन कानुन व्यवसायी परिषदलाई पनि आग्रह गर्नु भयो । प्रधानन्यायाधिश मिश्रले न्याय सेवा भित्रैबाट हुने विरोधको सामना गरेर भएपनि न्याय दिलाउने आफ्नो लक्ष्यमा बिचलित नभई काम गर्न पनि कानुन व्यवसायीहरुको ध्यानाकर्षण गराउनु भयो ।
प्रधानन्यायाधिश मिश्रले न्याय सेवामा थपिएको दायित्व पूरा गर्न पनि कानुन व्यवसायीहरुले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले कानुन व्यवसायीहरुले थपिएको दायित्व बोध गरेर अघि बढनुपर्ने जरुरी रहेको पनि बताउनुभयो । कार्यक्रममा वरिष्ठ अभिवक्ताहरु हरिहर दाहाल, राधेश्याम अधिकारी, कृष्णप्रसाद पन्त, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, राजेन्द्रबहादुर साउदलाई न्याय सेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दे अभिनन्दन गरिएको थियो ।