Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपाली नागरिक सरह नागरिकता पाउनुपर्ने एनआरएनएको माग

नेपाली नागरिक सरह नागरिकता पाउनुपर्ने एनआरएनएको माग

काठमाडौं, १२ पुष । गैरआवासीय नेपाली संघ(एनआरएन)ले आफूहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गर्नुभएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको बिधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले राष्ट्र निर्माण गर्ने अभियानमा आफूहरुलाई पनि सहभागी गराउन गैरआवासीय नेपाली नागरिकलाई पनि नेपाली नागरिक सरह नागरिकता लिन पाउने व्यवस्था गर्न संघीय संसद र सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले गैरआवासीय नेपालीहरु राष्ट्र निर्माणको अभियानमा प्रतिवद्ध रहेको पनि समितिलाई जानकारी गराउनुभयो । एनआरएनका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिको अभियानमा गैर आवासीय नेपालीहरु सहयोगको दायरा बढाउन अझै क्रियाशील भएर लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले गैरआवासीय नेपालीलाई सम्बन्धित देशकै नेपाली दुतावासबाट नागरिकता लिन पाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरुको भावी पुस्ताले पनि नेपाली नागरिकता पाउने व्यवस्था गर्न सरकारले अप्ठयारो मान्न नहुने धारणा पनि राख्नुभयो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले गैर आवासीय नेपालीहरुको ज्ञान, सीप र पूँजी राष्ट्र निर्माणका लगाउने गरी आवश्यक कानुनी प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *