प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जतिप्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पार्नु भयो । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाउनु भयो । तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख पनि गर्नु भयो । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भईरहेको दावी पनि गर्नु भयो । उहाँले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भईरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । प्रहरी तालिम केन्द्र ३ दशक अघि पनौति सार्ने निर्णय भएपनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दावी छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष दाहालले मुलुकलाई एकतावद्ध बनाउने अभियानमा पार्टीका सबै नेता, कार्यकर्ताहरुको उत्तिकै प्रयास आवश्यक रहेको पनि बताउनु भयो ।