Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > निर्मला पन्त हत्या प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बन

निर्मला पन्त हत्या प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बन

३० भदौ, काठमाडौ । गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । शनिबार बिज्ञप्ति प्रकाशित गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकेको छ । बिष्टसहित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र सहायक निरीक्षक रामसिंह धामीलाई शनिबारबाटै निलम्बन गरी अनुसन्धान गर्न निर्देशन दिएको हो । प्रतिवेदनमा अन्य केही संदिग्ध ब्यक्तिलाई पनि छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न निर्देशन दिएको छ । बिज्ञप्तिमा यो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेकाले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *