Saturday, January 18, 2025
Home > मुख्य समाचार > धरहराको पुनर्निर्माण सुरु

धरहराको पुनर्निर्माण सुरु

काठमाडौं, १२ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहरा पुनर्निर्माणको शिलान्यास गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आज धरहरा परिसरमा एक कार्यक्रमका बीच वैदिक विधिपूर्वक ऐतिहासिक धरोहर धरहराको पुनर्निर्माणको कामको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थिति रहेको थियो । २०७२ सालमा आएको विनाशकारी भूकम्पले भत्काएको धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट जिआईइटीसी÷रमन जेभीलाई दिइएको छ । २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहराको पुनर्निर्माणको काममा आ– आफ्नो ठाउँबाट योगदान गर्न प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गर्नु भयो । उहाँले धरहरा नेपाल र नेपालीको प्यारो सम्पदा भएको उल्लेख गर्दै यसको पुनर्निर्माण गर्ने संकल्प अघि बढाइएको पनि जानकारी दिनु भयो । प्रधानमन्त्री ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा ‘मेरो धरहरा, म आफैं बनाउछु’ भन्ने अभियान अघि बढन नसकेको उल्लेख गर्दै अव भने तोकिएकै समयमा धरहरा बन्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले २ वर्षपछि हाम्रो गौरवपूण धरहराबाट सुधारिएको वातावरण, सुधारिएको बाटो, हरियालीयुक्त काठमाडौं हेर्न पाउने व्यवस्था सरकारले गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको कामको थालनीलाई ऐतिहासिक कामको शुभारम्भ भएको बताउनु भयो । उहाँले बाटो जाम नहुने गरी धरहरा बनाउन लागिएको पनि बताउनु भयो । भूकम्पले भत्किएको धरहरालाई सिसा भित्र राखेर संरक्षण गर्ने र त्यसको छेउमै पूरानै शैलीमा अत्याधुनिक सुविधासहितको नयाँ धरहरा निर्माण हुनेछ । ४८ रोपनी जग्गामा निर्माण गर्न लागिएको सो धरहरामा प्रर्दशनी स्थल, संग्राहलय समेतको व्यवस्था हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सो धरहरा निर्माणका लागि ३ अर्व ४८ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *