Saturday, January 18, 2025
Home > मुख्य समाचार > दुहवीमा आज पनि प्रदर्शन जारी

दुहवीमा आज पनि प्रदर्शन जारी

दुहवी, ६ मंसिर । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृहमन्त्री घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका छन् ।

मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनिहरुको माग छ । शहीद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि गोली हान्ने समूहको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन मुस्लिम समूदायसहित आन्दोलित पक्षले स्थानीय प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको छ । टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका छन् । आज मध्यान्ह सम्मपनि आफुहरुको माग सुनुवाई नभए आन्दोलनलाई शशक्त बनाउने मुस्लिम समूदायले चेतावनी दिएको छ ।

हुसेन हत्याको बिरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको छ । मुस्लिम समूदायको उपस्थिती रहेको क्षेत्रमा बिहानैबाट टायर बाली शान्ति सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी भैरहेको छ । दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प भएका छन् भने दुहवीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द छन् । उता सुनसरी प्रहरीले भने हत्याराको खोजी भैरहेको बताएपनि मृतकको शव पोष्टमार्टम गर्ने वातावरण बन्न नसक्दा अनुसन्धानमा कठिनाई भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *