दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवसायीहरुले आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको हिजो बसेको बैठकको निर्णय अनुसार देशभर दसैंको अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भयो । उहाँले दसैंमा घर जाने यात्रुहरुलाई सहज ढंगले सवारी साधन उपलब्ध गराउन महासंघले अनुगमनको काम पनि एकसाथ अघि बढाएको पनि स्पष्ट पार्नु भयो । महासचिव सिटौलाले सरकारसँग गरिएको सहमति अनुसार भाडादर १० प्रतिशत वृद्धि गरिएको पनि स्मरण गराउनु भयो । यस वर्ष करिव २० लाख मानिसहरु दसैंका लागि घर जाने अनुमानसहित महासंघले गाडीको उचित व्यवस्था गर्ने जनाएको छ । गाडीको सहज व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सिटौला सदस्य सचिव रहेको अनुगमन समितिनै बनाइएको छ ।