Saturday, January 18, 2025
Home > मुख्य समाचार > तोकिएको मितिमा के कारणले कटहरी खुल्ला दिसामुक्त गाउँपालिका भएन ?

तोकिएको मितिमा के कारणले कटहरी खुल्ला दिसामुक्त गाउँपालिका भएन ?

कटहरी, २८ मंसिर ।
मंसिर २९ गते कटहरी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नहुने भएको छ । गाउँपालिकाभित्रका सबै घरधुरीमा शौचालय निर्माण हुन नसकेका कारण पुस ७ गतेका लागि नयाँ मिति तय गरिएको छ ।

सरोकारवालाको निरन्तर प्रयासका बाबजुद यसअघि निर्धारित मितिमा कटहरी गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा नहुने भएको छ । गाउँपालिकाका ८ हजार २ सय घरधुरीमध्ये हालसम्म ८० प्रतिशत घरधुरीमा मात्र चर्पी निर्माण गर्न सकिएकाले मंसिर २९ को साटो पुस ७ गतेलाई नयाँ मिति निर्धारित गरिएको छ । ७ वटा वडा र ३९ हजार ७ सय ७५ जनसंख्या रहेको कटहरी गाउँपालिकाको वडानम्बर १,५,६ र ७ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको भए पनि २, ३ र ४ नम्बर वडा घोषणा हुन बाँकी छ । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्राविधिक समस्याका कारण मंसिर २९ मा गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न नसकिएको बताउनुभयो ।

गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न निरन्तर अभियान चलाइँदै आए पनि अति पिछडिएको र सिमान्तकृत समुदायको बसोबास रहेको क्षेत्रमा शतप्रतिशत चर्पी निर्माण कार्य सम्पन्न हुन नसकेको हो । आर्थिकरुपले विपन्न समुदायलाई गाउँपालिकाले चर्पीको रिङ, पाइप र प्यान उपलब्ध गराए पनि कतिपयले अझै पनि चर्पी निर्माण गरेका छैनन् भने कतिपयले गाउँपालिकाले उपलब्ध गराएको सामग्री यत्तिकै थन्काएर राखेको फेला परेको छ । केही दिनयता गाउँपालिका प्रमुख, वडाध्यक्षहरु र सरोकारवालाको टोलीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेका वडाहरुमा बिहानैदेखि नियमित अनुगमन र दबाबमुलक कार्यक्रमसमेत गर्दै आएको छ । गाउँपालिकामा जारी अभियानलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार बिहान ड्रोन क्यामराको प्रयोग गरेको छ । खुल्ला ठाउँमा दिसा गर्ने परिपाटिलाई निरुत्साहित गर्न ड्रोन क्यामराबाट निरीक्षण गरिएको हो । डिसेम्बर २९ भित्र जिल्लालाई खुल्ला दिसामुक्तक्षेत्र घोषणा गर्न हरसम्भव प्रयास गरिराखिएको जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले बताउनुभयो ।

प्रदेश एकका १४ जिल्लामध्ये १२ वटा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसके पनि झापा र मोरङ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । मोरङको कटहरी र जहदा गाउँपालिका साथै विराटनगर महानगरपालिकाको वडानम्बर १८ र १९ खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । मकालु समाचारका लागि नवीन कर्ण,कटहरी मोरङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *