Saturday, January 18, 2025
Home > मुख्य समाचार > डिसहोमको कर छली धन्दा

डिसहोमको कर छली धन्दा

२, पुस । आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले डिजिटल टेलिभिजन सेटअप बक्स (पे–टिभी) जडानका नाममा ९ वर्षदेखि करोडौं रुपैयाँ कर छली गर्दै आएको छ । लामो समयदेखि कर तथा रोयल्टी रकम छली गर्दै आए पनि सम्बन्धित निकाय भने बेखवर छ ।

नेपालमा अहिले झन्डै एक दर्जन कम्पनीले पे–टिभी जडानको काम गर्दै आएका छन् । डिस होम बाहेकका अन्य कम्पनी भने बजारमा भखरै प्रवेश गरेका हुन । ९ वर्षदेखि पे–टिभी सञ्चालन गर्दै आएको कम्पनी डिस मिडियाका अध्यक्ष हेमराज ढकाल हुन् । ग्राहक संख्या खुलस्त नपार्नु, पब्लिक कम्पनीले आफ्नो विवरण सार्वजनिक नगर्नु र नियामक निकायसँग पनि डिस होमको तथ्यांक अद्यावधिक नहुनु आफैमा कर छलीका प्रमाण हुन । नेपालको सबैभन्दा पुरानो र बढी बजार हिस्सा ओगटेको डिस होमले चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो ४ महिनामा जम्मा ५ करोड ४० लाख रुपैयाँ मात्रै कर तिरेको छ । यो हिसाबले डिस होमले महिनामा सरदर १ करोड ३५ लाख रुपैयाँ मात्र कर बुझाउँछ । डिस होम, जसले ग्राहक संख्या लुकाउँदै आए पनि कुल बजारको २५ प्रतिशत हिस्सा दाबी गर्दै आइरहेको छ । ग्राहकबाट डिस होम मिडिया नेटवर्कले न्यूनतम महिनाको ४ सय रुपैयाँ संकलन गर्छ । ४ सय रुपैयाँको १३ प्रतिशतका दरले १० लाख ग्राहकबाट उठाएको रकम मात्रै २० करोड रुपैयाँभन्दा बढी हुन आउँछ । तर, ४ महिनामा डिस होमले ५ करोड ४० लाख रुपैयाँ मात्रै कर तिरेको ठूला करदाता कार्यालयको विवरणमा उल्लेख छ । सामान्य हिसाबमा मात्रै डिस होमले ४ महिनामै कम्तीमा १५ करोड रुपैयाँ कर छली गरेको कार्यालयकै विवरणबाट पुष्टि हुन्छ । डिस होमले ग्राहकबाट असुल्ने न्यूनतम रकम ४ सय भन्नुको आधार डिस होमले सेवा विस्तारमा ल्याएका विभिन्न नामका १० वटा प्याकेज हुन् । डिस होमले अहिले स्टान्डर्ड डेफिनेसन अन्तर्गत ६ वटा र एचडी अन्तर्गत ४ वटा गरी १० वटा प्याकेजमा ग्राहक बनाइरहेको छ । स्टान्डर्ड डेफिनेसन प्याकेजअन्तर्गत बेसिक प्याकको मासिक ३ सय ५०, बेसिक प्लसको मासिक ४ सय २५ रुपैयाँ र डिलक्सको मासिक ५ सय रुपैयाँ लिँदै आइरहेको छ । यसमा ३ वटासम्म सेटअप बक्स जडानबाहेक अर्को सेटअप बक्स राखिएमा प्रति सेटअप बक्स २ सय रुपैयाँ ग्राहकले थप्नुपर्छ । डिलक्स प्लसको प्याकेज लिने ग्राहकले पनि प्रतिमहिना ५ सय ७५ रुपैयाँ, मिडियम प्लसको ४ सय ७५ रुपैयाँ र मिडियमको ४ सय रुपैयाँ ग्राहकले प्रतिमहिना तिर्नुपर्छ । यसैगरी, डिस होमले एचडी प्याकेज अन्तर्गतको ‘लाइफ स्टाइल प्याक’मा बढीमा ४ वटा सेटअप बक्स जडान गर्न मिल्ने गरी पहिलोमा ९ सय रुपैयाँ र थप ३ का लागि प्रति सेटअप बक्स १ सय रुपैयाँ लगाउँछ । डिस होमले एचडी प्याकेजकै प्रिमियम एचडीमा ६ सय र प्रति थप ३ वटा टिभीमा प्रतिमहिना २ सय रुपैयाँ असुल्दै आइरहेको छ । साथै एचडी प्याकेजकै सुपर एचडी प्लस प्याकको ५ सय ७५ र सुपर एचडीको ५ सय ७५ रुपैयाँ प्रतिमहिना शुल्क छ । यसरी मासिक प्याक अनुसार रकम असुली गर्नुपूर्व डिस होमले छाता र सेटअप बक्स चलाउन आवश्यक उपकरणको ३ हजार र जडानबापत ५ सय रुपैयाँ लिँदै आएको छ । एउटै छाताबाट ३ र ४ वटा सेटअप बक्स चलाउन मिल्ने प्याकेजमा पनि प्रति सेटअप बक्स २ हजार रुपैयाँ लिइन्छ । सेटअप बक्सको विषयलाई छोड्दा पनि डिस होमले सरदर एउटा ग्राहकसँग मासिक ४ सय रुपैयाँभन्दा बढी लिने यही हिसाबकिताबले प्रस्ट पार्छ । यसरी मासिक ग्राहकसँग लिने ४ सय रुपैयाँको १३ प्रतिशत रकम कम्पनीले सरकारलाई तिर्नुपर्ने हुन्छ । कानुन अनुसार ४ सय रुपैयाँको १३ प्रतिशत रकम सरकारलाई तिरेर बाँकी रहेको रकममा पनि कम्पनीले सरकारलाई २ प्रतिशत रकम फेरि रोयल्टी तिर्नुपर्छ । यसरी सरकारलाई तिर्नुपर्ने कर र रोयल्टी रकम छलीकै लागि डिस होमले आफ्नो ग्राहक संख्या लुकाउँदै आफूखुसी रकम तिर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *