विराटनगर, १२ पुष । जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन आजबाट विराटनगरमा शुरु भएको छ ।
जलवायुकालागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता छ । विराटनगरस्थित एक निजी होटलमा शुरु भएको सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क कोअर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिनुभयो । उहांले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसंग जुध्न युवाहरुको क्षमता अभिबृद्धि गरिने बताउनुभयो ।
सम्मेलन समापन हुनेदिन पौष १४ गते घोषणापत्र जारी गरिने जनाइएको छ । जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाईने आयोजक संस्थाले जनाएको छ ।