Saturday, January 18, 2025
Home > मुख्य समाचार > जनस्वास्थ्यका २ सय ३६ कर्मचारी कामविहीन

जनस्वास्थ्यका २ सय ३६ कर्मचारी कामविहीन

विराटनगर, १६ पुष । कर्मचारी नहुँदा प्रदेश सरकारले कार्य सम्पादन गर्न अप्ठ्यारो परेको बताइरहेका बेला २ सय ३६ कर्मचारी भने कामविहीन भएका छन् । केन्द्र सरकारले जिल्ला जनस्वास्थ्यहरु कार्यालय खारेज गरेपछि प्रदेश १ मा २ सय ३६ कर्मचारी कामविहीन भएका हुन् ।

प्रदेश १ का १४ जिल्लाका स्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय तालिम केन्द्र खारेजीमा परेपछि त्यहाँ कार्यरत ३ सय १ कर्मचारीहरु मध्ये दुई महिनायता २ सय ३६ कर्मचारी काम बिहिन भएका हुन् । १४ जिल्लास्थित जनस्वास्थ्य कार्यालय, क्षेत्रिय स्वास्थ्य निर्देशनालय, क्षेत्रिय स्वास्थ्य तालिम केन्द्रमा कार्यरत जम्मा ६५ जना कर्मचारीलाई मात्र सामाजिक विकास मन्त्रालयले काममा खटाएको छ । २ सय ३६ कर्मचारी गत कात्तिक १ गतेदेखि कामबिहिन भएको प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता गोपी घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार कामबिहिन अवस्थामा बस्ने कर्मचारीहरु स्वास्थ्य सेवातर्फ चौथो तहदेखि आठौ तहसम्मका छन् ।

मन्त्रालयले संकलन गरेको तथ्याङ्कअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटामा कार्यरत १५, तेह्रथुममा कार्यरत ७, उदयपुरमा कार्यरत १२, मोरङमा कार्यरत २०, पाँचथरमा कार्यरत १४, ओखलढुंगामा कार्यरत ११, सुनसरीमा कार्यरत २२ कर्मचारी कामविहीन भएका छन् । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय झापामा कार्यरत १५, संखुवासभामा कार्यरत १२, इलाममा कार्यरत २१, खोटाङमा कार्यरत १३, सोलुखुम्बमा कार्यरत ९, क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत २९, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा कार्यरत १४ कर्मचारी जिम्मेवारीविहीन अवस्थामा छन् ।

कामविहीन भएका कर्मचारीलाई कहाँ खटाउने भन्ने अन्योल छ । केन्द्र सरकारले स्वास्थ्य कायालय पुनः ब्यूझ्याउने हल्ला चलेपछि अन्योलता थपिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा जम्मा ६८ जना कर्मचारीको दरबन्दी छ । तर प्रदेश सरकार गठन भएको एक वर्षसम्म सबै पदपूर्ति हुन सकेको छैन । दरबन्दीमध्ये ४६ पदपूर्ति भएको मन्त्रालयमा अझै २२ दरबन्दी खाली छ । मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय धनकुटामा १८, शिक्षा तालिम केन्द्र सुनसरीमा ७ दरबन्दी खाली छ । मन्त्रालयले चाँडै कर्मचारीहरुलाई दरबन्दी सिर्जना गरेर खटाइने जनाएको छ । कर्मचारी खटनपटन केन्द्र सरकारले गरेको बताउँदै कामविहीन अवस्थामा रहेका कर्मचारीलाई केही दिनभित्र जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *