Saturday, January 18, 2025
Home > मुख्य समाचार > छठ पर्व सुरु

छठ पर्व सुरु

दशैं, तिहार लगत्तै मनाउने साझा पर्वको रुपमा छुट्टै पहिचान बनाएको छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जातजाति एवं राजधानी काठमाडौ लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो । पर्वको पहिलो दिन चतुर्थीमा आज ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । आजको दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्दछन । पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ । छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ । यस्तै तराई मधेशका विभिन्न पोखरीहरुको यूवाहरुसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतले सरसफाई गरेका छन । प्रदेश नं. २ सरकारले यो पर्व मनाउन मंगलबार र बुधबार दुई दिन सार्वजनिक विदा समेत दिएको छ । तर, संघीय सरकारले छठ पर्वको अवसरमा एक दिन मंगलबार मात्र सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *