Saturday, January 18, 2025
Home > मुख्य समाचार > घरको नक्सा र जग्गाको लालपूर्जा हातमा भएर पनि घरजग्गा भने गायब !

घरको नक्सा र जग्गाको लालपूर्जा हातमा भएर पनि घरजग्गा भने गायब !

मोरङ, १० पुष । जिन्दगी भरको कमाइबाट जोडेको घर जग्गा हरायो भने त्यो भन्दा ठूलो पीडा गरिबका लागि के हुनसक्छ । मोरङ ग्रामथानको ७ नम्बर वडाका ४ घर परिवारलाई अहिले त्यस्तै आपत्त आइलागेको छ । जग्गा दलालको विभिन्न तानाबानाका कारण उनीहरुले मेहनतले कमाएको करोड बढी मूल्य पर्ने घरको नक्सा र जग्गाको लालपूर्जा हातमा भएर पनि घरजग्गा भने गायब छ ।

ग्रामथान–७ की इसुमती चौधरीले ६९ सालमा स्थानीय कृष्ण श्रेष्ठबाट साढे ६ लाख रुपैयाँमा ५ धूर जग्गा खरिद गरिन् । आफ्नो जग्गामा कहिले बालुवा चालेर त कहिले बनिबूतो गरेर कमाएको पैसा तथा बैंकबाट ऋण काढेर झण्डै ६० लाखमा दुई तल्ले घरमा बनाइन् । तर, ६ नम्बर वडा कार्यालय र ७ नम्बर वडाको सिमाना विवादको टुंगो नलाग्दा उनको घर भत्किने भएको छ । छिमेकीले आफ्नो जग्गा उनको घर बनाएको ठाउँमा परेको भन्दै अदालतमा दिएको निवेदन सदर भएपछि उनको घर भत्काउन प्रहरीसहित घरमा पुग्यो । दुःख गरेर कमाएको पैसाले बनाएको घरमा अर्कैले ताला लगाइदियो । उनको घरबाट उत्तरपट्टि रहेको छिमेकीको जग्गा १५ फिट गायव भएपछि मुद्दा परेको थियो । त्यसपछि इसुमतिको सीमाना १५ फिट पर सर्ने र अर्को घर पनि भत्किने अवस्था बनेपछि दक्षिणी छिमेकी प्रमिता खामाजी र वीरेन्द्र चौधरीको पनि करोड बढी लगानी गरेर बनाएको घर भत्किने अवस्थामा पुगेको छ ।

दक्षिणतिर सीमाना सर्दै गएपछि अन्तिममा ग्रामथान गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयको ऐलानी जग्गा सर्ने देखिन्छ । तर, ६ नम्बर र ७ नम्बर वडा कार्यालयले सीमाना सही ढंगले नछुट्याउँदा र घर भत्किने अवस्थामा पुगेका उनीहरुको समस्या समाधानका लागि पहल नगर्दा आफूहरु मारमा परेको पीडित बताउँछन् । यसअघि प्लटिङ गर्नेहरुले जथाभावी गर्दा समस्या आएको स्थानीय बताउँछन् । वडा नम्बर ६ का वडाध्यक्ष सवदनारायण चौधरी पनि प्लटिङ गर्नेहरुकै कमजोरीका कारण स्थानीयले दुःख पाएको बताउनुहुन्छ । घर बनाएर बसिरहेका स्थानीयको घर भत्काउने कुनै पनि काम राम्रो नहुने भन्दै उहाँले प्लटिङ गर्नेहरुले स्थानीयको जग्गालाई बाटोमा पारेको हुनसक्ने र खोजी गर्नुपर्ने विषय भएको बताउनुभयो । सर्वसाधरणको जग्गा धनीपूर्जामा देखिए पनि व्यवहारिक हिसाबले जग्गा नभेटिनु भने लाजमर्दो कुुरा हो । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएर जनतामा परेको समस्या समाधान गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *