Saturday, January 18, 2025
Home > मुख्य समाचार > गुफापोखरी, पर्यटक आकर्षित गर्ने पूर्वको अर्को गन्तव्य

गुफापोखरी, पर्यटक आकर्षित गर्ने पूर्वको अर्को गन्तव्य

तेह्रथुम, २७ मंसिर । सरकारले सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर पर्यटकीय गतिविधिलाई तीव्र बनाउने योजना सार्वजनिक गरीसकेको छ । पर्यटक आकर्षण गर्ने प्रदेश १ मा रहेका विभिन्न आकर्षक गतन्व्यहरु रहेका छन् । जसमध्ये पर्यटकलाई आकर्षण गर्ने गन्तव्य हो गुफापोखरी ।

प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्र समुद्री सतहदेखि दुई हजार ८९० मिटरको उचाइमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्दछ । टिएमजे क्षेत्रको पदमार्ग भएर बर्सेनि हजारौं पर्यटकहरु ओहोरदोहोर गर्छन् । एक नम्बर प्रदेशको यस पोखरी क्षेत्रलाई हिलस्टेशनसमेत भन्ने गरीन्छ । यो क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीहरुको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे बन, डाँडाकाँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटकहरु आउँछन् । सेता हिमालहरुसँग लुकामारी खेल्दै, गुराँससँग नाच्दै, सररर चल्ने हिमालको चिसो हावासँग रोमञ्चकारी यात्रा अनुभब गर्न बसन्त ऋतुमा यस क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइचो नै लाग्ने गर्दछ ।

गुफापोखरी क्षेत्रबाट मकालु, कञ्चनजंघासहित हिमालहरूको अवलोकन गर्न सकिन्छ भने ती शिखरहरूको छायाँ गुफापोखरीमा प्रस्ट देखिन्छ । यो स्थानमा बाह्रै महिना चिसो हुने गर्दछ । जिल्लाकै सबैभन्दा अग्लो मेन्छ्यायेम डाँडा यस क्षेत्रमा पर्दछ । जहाँबाट सूर्योदयको मनोरम दृश्य नियाल्न सकिन्छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्र प्राकृतिक एवं जैविक विविधताले सजिएको छ । यो क्षेत्र गुराँसका साथै प्राकृतिक ताल र पोखरीले पनि भरिपूर्ण छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण गुफापोखरीको सुन्दर पक्ष भनेको पोखरीमा खसेका पातहरु चराले टिप्ने गरेको छ । पोखरीमा खसेका पात चराले टिप्ने गरेकाले पोखरी वरिपरि रहेका बोटविरुवाका पात पोखरीमा जम्मा हुन नपाउने हुनाले पोखरी सधैं सफा रहने स्थानीय बताउँछन् । राम्रो सम्भावना बोकेको यो पर्यटकीय स्थलमा स्थानीय सरकार र प्रदेश सरकारले उपेक्षा गरेर वास्ता नगरेको स्थानीय हरिप्रसाद खनाल दुखेसो पोख्छन् ।

गुफापोखरीमा टाढा टाढाबाट उडेर विभिन्न प्रजातिका चरा बास बस्नसमेत आउने गरेको छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने चौरी हेर्न पाइनुका साथै मकालुलगायतका हिमालको सुन्दर दृश्य देख्न सकिने यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ । पर्यटकीयसँगै यसलाई धार्मीक स्थल पनी मान्ने गरीन्छ ।

गुराँसको राजधानी, मेन्छ्यायेम डाँडा, गुफापोखरीका साथै यहाँको प्राकृतिक सुन्दरतामा रमाउन आउनेहरुका लागि हाल तेह्रथुमको वसन्तपुरदेखि गुफाबजार हुँदै ताप्लेजुङको साँघु खण्डमा सडक निर्माण भई नियमित सवारी सञ्चालनमा छ । गुफापोखरी क्षेत्रलाई संरक्षण तथा प्रचारप्रसार गरेमा उल्लेख्य आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *