एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको भीषण डढेलोका कारण ६ सय भन्दा बढी बेपत्ता भएको जनाइएको छ ।
खोजीकार्य अझै जारी रहेकाले मृतकको संख्या पनि बढ्नसक्ने अनुमान गरिएको छ । पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६ सय ३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै, उनीहरुले थप सातजनाको शव आगलागी भएको जंगलबाट निकालेको जनाएका छन् । यसअघि, उक्त डढेलोमा परी करिब ३ सय जना बेपत्ता भएका बताइएको थियो । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात आगो सल्किएको र दु्रतगतिमा फैलिएको थियो । आगो नियन्त्रणमा ल्याउन ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । गत नोभेम्बर ८ मा सुरु भएको सो डढेलोमा परी बिहीबारसम्म मृत्यु हुनेहरुको संख्या ६३ पुगेको छ । डढेलोबाट जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।