Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > क्यालिफोर्नियास्थित जङ्गलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या कम्तीमा ५० पुग्यो

क्यालिफोर्नियास्थित जङ्गलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या कम्तीमा ५० पुग्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखे पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी कोरी होनेआले बताउनुभएको छ । यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो । अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझ १०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौ अग्नि नियन्त्रकहरु परिचालन गरिएका र उनीहरुले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय–समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट खासगरी जङ्गल आसपास बसोबास गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *