भदौ १, विराटनगरको कोशी अञ्चल अस्पतालका अधिकांश चिकित्सकहरु आफ्नो ड्युटी समय भन्दा अगाडि नै निस्कने गरेको पाइएको छ । कोशी अञ्चल अस्पतालमा चिकित्सकहरु समयभन्दा अगाडि नै निस्कने गरेकाले टाढाटाढाबाट आएका सेवाग्राहीहरुलाई समस्या परेको छ । शुक्रबार मकालु टेभिजिनका संवाददाता अस्पतालमा पुग्दा साढे १२ बजेको थियो । तर अधिकांश ओपीडीमा कार्यरत चिकित्सकहरु निस्किसकेका थिए । २ बजेसम्म चिकित्सकहरुको ड्युटी समय भए पनि कोही पनि २ बजेसम्म बस्ने नगरेको अस्पतालमा कार्यरत कर्मचारीले बताएका छन् । यस विषयमा अस्पतालका निमित्त मेसु डाक्टर लक्ष्मीनारायण यादवसँग कुराकानी गर्दा उहाँले डिउटी समय २ बजेसम्म भएको स्वीकार गर्दै डाक्टरहरुलाई आवश्यक परे फोन गरेर बोलाउने बताउनु भयो । अस्पतालको इमर्जेन्सी कक्षमा पनि बेवास्ता गर्ने गरेको पाइएको छ । पहुँच नपुग्ने बिरामीलाई बेवास्ता गर्ने गरेको उपचारमा आउने बिरामीहरुले गुनासो पोखेका छन् ।