Saturday, January 18, 2025
Home > मुख्य समाचार > कांग्रेसभित्र हिन्दु राज्यको बहस सुरु भएकोमा दाहालको आपत्ति

कांग्रेसभित्र हिन्दु राज्यको बहस सुरु भएकोमा दाहालको आपत्ति

काठमाडौं, ७ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसभत्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल काँग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सूरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाउनु भएको हो । आज काठमाडौंमा ‘देश किन बनेन्’ नामक पुस्तकको बिमोचन गर्दै उहाँले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने काँग्रेस समाप्त भएर जाने चेतावनी पनि दिनुभयो । अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि काँग्रेस नेतृत्वलाई सचेत गराउनुभयो । वर्तमान संविधानको ‘पिता’ ठान्ने काँग्रेसले पार्टीका तत्कालीन सभापति शुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष दाहालको दावी छ ।

अध्यक्ष दाहालले वीपी कोइरालाले स्थापना गरेको काँग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न सुहाउँछ भनि प्रश्न पनि गर्नुभयो । उहाँले विविधताले युक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *