काठमाडौ, २८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ ।
आठौं चरणको खेलमा आज उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दैै मनाङले उपाधि दावेदारीलाई अझ बलियो बनाएको हो । विशाल राईले खेलको ३१औं मिनेटमा गरेको गोल नै मनाङलाई जिताउन पर्याप्त भयो । हारले आर्मीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । अब मनाङ एकमात्र अपराजित टिम बन्न सफल भएको छ । शुक्रबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित र्गयो । लिग तालिकामा शीर्ष स्थानको मनाङको २४ अंक हुँदा दोस्रो स्थानको संकटा क्लबको २१ अंक छ । एक खेल कम खेलेको थ्रीस्टार क्लबको १८ अंक हुँदा चौथो स्थानको आर्मीको १७ अंक छ । पाँचौं स्थानको पुलिसको १४ अंक हुँदा हिमालयन शेर्पा ११ अंकसहित छैटौं स्थानमा छ । १४ टिम सहभागी लिगमा एक अंकसहित न्यूरोड टिम (एनआरटी) पुछारमा छ । भोलि दुई खेल हुनेछन् । बिहान ११ बजे च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबसँग तथा दिउँसो साढे २ बजे थ्रीस्टार क्लबले मच्छिन्द्र क्लबसँग खेल्नेछ । यी खेलसँगै आठौं चरणका खेल सकिनेछन् ।